Sunday, January 31, 2010

Team of nepal in Volleyball


अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जानुअघि अधिकांशको भनाइ हुन्छ, 'पदक ल्याउँछु ।' अझ त्यसमा स्वर्ण जित्ने चाहना देखिन्छ ।

तर, बंगलादेशमा हुने ११ औं दक्षिण एसियाली खेलकुद अघि नेपालको लोकपि्रय खेल भलिबलका खेलाडी तथा प्रशिक्षकमा स्वर्ण जित्ने विश्वास छैन । उनीहरू खेल तालिकाले साथ दिए कांस्यसम्म जित्ने विश्वास व्यक्त गर्छन् ।

'अहिलेको प्रशिक्षणले स्वर्ण जित्न सक्छु भन्न सकिँदैन,' भलिबलका प्रमुख प्रशिक्षक केशवराज श्रेष्ठले भने । उनले नेपाली खेलाडीले प्रशिक्षणका लागि आवश्यक समय नपाएको गुनासो पोखे ।

दक्षिण एसियाली खेलमा नेपाली भलिबल टिमको प्रदर्शन राम्रो छैन । पहिला दुई संस्करण छोडेर बाँकी सबैमा भलिबल समावेश गरिएको छ । तर, पुरुष भलिबलमा नेपालले कुनै पदक जित्न सकेको छैन ।

काठमाडौंमा भएको आठौं संस्करण र कोलम्बोमा भएको दसौं सागमा नेपाली महिला भलिबल टिमले कांस्य पदक जितेको थियो । ढाकामा हुने एघारौं संस्करणमा महिला भलिबल समावेश छैन ।

'हामीले दिनमा दुईपटक प्रशिक्षण गर्न थालेको एक साता जतिमात्र भयो होला,' प्रशिक्षक श्रेष्ठले भने, 'ढिलो भए पनि प्रशिक्षण राम्रै भएको छ ।' बास्केटबल टोली थप प्रशिक्षणका लागि बैंकक गए पनि भलिबलले राष्ट्रिय खेलकुद परिषद् कबर्डहलमा दैनिक दुईपटक प्रशिक्षणको अवसर पाएको हो ।

'म्याटमा खेल्नु पर्छ । खेलाडीले त्यसमा अभ्यास गर्न पाएका छैनन्' प्रशिक्षक श्रेष्ठले भने, 'एकैपल्ट म्याटमा खेल्दा उनीहरूको प्रदर्शन प्रभावित हुन सक्छ ।'

उनले खेलाडीमा अभ्यास खेलको अभाव रहेको बताए । प्रशिक्षक श्रेष्ठको भनाइलाई नेपाली टिमका कप्तान भरत शाहले समर्थन गरे ।

पाँचौंपल्ट दक्षिण एसियाली खेलमा सहभागी जनाउन लागेका शाह लोडसेडिङले पनि प्रशिक्षणमा समस्या पारेको बताए । उनले उद्घाटन अवसरमा नेपाली झन्डा बोक्ने सम्भावना अधिक रहेको छ ।

'भारत, श्रीलंका र पाकिस्तानजस्ता मुलुकसँगको प्रतिस्पर्धामा पहिलो र दोस्रो स्थान आशा गर्न गाह्रो हुन्छ,' उनले अहिलेको प्रशिक्षण त्यसका लागि पर्याप्त नहुने विचार प्रकट गरे ।

नेपाली टिममा ७ खेलाडी नयाँ रहेका छन् भने अन्यसँग दक्षिण एसियाली खेलको अनुभव रहेको छ । सरोज तेस्रोपटक तथा कैलाश र संजयले दोस्रोपटक सहभागिता जनाइरहेका छन् ।

No comments:

Post a Comment